मेहेन्दी

यस्तै साउने दिनहरुमा एक विहान पँधेरामा भेटिएकी थियौ तिमी । अरु कोही थिएनन् । हामी दुई मात्रै । गाग्री भरिसकेर छेउमा राखेकी थियौ तिमीले । मेरो चाहीँ भर्नै बाँकी थियो ।

तिमीले मेहेन्दीले रंगिएको हत्केला मेरो अघिल्तिर तेसार्दै भनेकी थियौ, हेर त राम्ररी ।

मैले हेरेरै भनेको थिएँ, राम्रो छ ।

तिमीले फेरी सोध्यौ, त्यति मात्रै ?

भनिदिएँ, साह्रै सुहाएको छ ।

फेरी सोध्यौ, अरु ?

भनेँ, अरु त के पो हुन्थ्यो र ।

केही देखेनौ ? फेरी सोध्यौ ।

अनि “मेहेन्दीको बीचमा कतै नाम पो लेख्छन् हौ कतिले त” भनेर साथीहरुले भनेको सम्झेँ । नभन्दै पत्ता लगाएँ, हत्केलामा मेहेन्दीको बीचमा झट्टा हेर्दा थाहा नहुने गरि लेखेकी मेरो नामको पहिलो अङ्ग्रेजी अक्षर । तर केही थाहा नपाए झैँ गरि, ‘फूलको बुट्टा असाध्यै राम्रो रै छ’ भनिदिएँ ।

तिमीले रिसाए झैँ गरि फुत्त आफ्नो हात तान्यौ । ‘आँखा पनि के हो के हो’ भन्यौ । अनि केही मुर्मुरिए झैँ गरि गाग्री एकै झट्कामा उचाल्यौ र कम्मरमा राख्यौ । त्यति नै बेला गाग्रीको मुखबाट केही पानी छचल्किएर तिम्रो कुममा पोखियो । तिमी घरतिर लम्कियौ ।

दुई चार पाईला उता के पुगेकी थियौ, अनि मैले जिस्किँदै भनिदिएँ – ”फूलको थुंगाको बीचमा चाहीँ अङ्ग्रेजी अक्षर हुँदो रै छ भन्ने बल्ल आज थाहा भो” । तिमी टक्क रोकियौ । फर्केर हेरुँला झैँ गर्यौ । तर हेरिनौ । बरु कम्मरमा गाग्री मिलाए झैँ गर्यौ र हाँस्दै गयौ ।

(हिजोको बहकिने मनको एक अंश)

Leave Comment

Your email address will not be published. Required fields are marked *